हराउँदै हलो, बढ्दै ट्याक्टरको प्रयोग

पाेखरा | साउन ११, २०७९

हराउँदै हलो,  बढ्दै ट्याक्टरको प्रयोग

 

गण्डकी:  कृषिप्रधान देश नेपालमा आधुनिक प्रविधिसँगै भित्रिएका कृषि उपकरणको बढ्दो क्रमले यतिखेर अधिकांश स्थानमा हलोको प्रयोग हुन छाडेको छ । 

 

नेपालका अधिकांश ग्रामीण भेगमा पछिल्ला समयमा किसान हलो छाडेर हाते मिनि टेलर प्रयोग गर्न थालेका छन् भने समथर भू–भागमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ । ग्रामीण भेगका टारी खेतमा अग्ला कान्ला तथा साँघुरा गरा हुने भएकाले केही स्थानमा भने अझै पनि गोरुको प्रयोग हुने गरेको स्थानीय किसान बताउँछन् ।

 

समथर ठाउँका लागि ट्याक्टरको प्रयोग बरदान नै भए पनि राम्रा मलिला खेतमा भने यसको प्रयोगले जमिनको भित्री रुखो माटो बाहिर ल्याउने हुँदा उत्पादनमा प्रत्यक्ष असर पार्ने गरेको अगुवा किसान हरिप्रसाद आचार्य बताउनुहुन्छ । “कास्कीको दक्षिणभेगस्थित सुरौदी फाँटका मलिला खेतमा ट्याक्टरको प्रयोगले भित्री रुखो माटो निकाल्ने गरेको मेरो अनुभव छ”, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहनुभएका आचार्यले भन्नुभयो, “अन्य गेग्रानयुक्त ढुङ्गे खेतका लागि भने यसको प्रयोगले खेती गर्न सजिलोका साथै उत्पादन बढाएको छ ।” 

 

खनजोतका लागि आधुनिक उपकरणको बढ्दो प्रयोगसँगै ती उपकरण सजिलै लैजान नसकिने ठाउँमा खेतबारी बाँझै रहन थालेको किसान बताउँछन् । पछिल्ला वर्षमा त स्थानीय जातका गाई पाल्न छाडिएका कारण जोत्नका लागि गोरु पाउन पनि मुस्किल छ ।

 

 विगतमा कास्की र आसपासमा सिक्लेस, गोर्जे, हङ्शपुर, माझठाना, बाबियाडाँडा, भरतपोखरी लगायतका स्थानमा गोरुको राम्रै खरिदबिक्री हुने गरेकामा अहिले भने ती ठाउँमा पनि अधिकांशले गाई पाल्न छाडेका छन् । यस क्षेत्रमा विकासी जातका गाईका बाच्छालाई गोरुका रुपमा प्रयोग गरिदैन । ग्रामीण भेगमा दाइ हाल्नका लागि गोरुको अभाव हुँदा समस्या पर्ने गरेको स्थानीय बताउँछन् । एउटा गोरु किन्न सामान्यतः रु २० देखि ३० हजारसम्म खर्चनुपर्ने किसान बताउँछन् ।

 

गोरुको अभावसँगै पछिल्ला वर्षमा परम्परागत काठे हलो बनाउने व्यक्तिको पनि अभाव खड्कँदै गएको छ । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्नुका साथै त्यसबाट निर्वाहसमेत नहुने भएपछि हलो किन्नका लागि पाउन पनि मुस्किल हुने गरेको अर्का किसान टीकाराम तिवारीले बताउनुभयो । “हलो बनाउनका लागि सीप उत्तिकै आवश्यक छ, पछिल्ला पुस्तामा यसतर्फ चासो नदेखिएका कारण अहिले हलो सहज रुपमा किन्नका लागि पाउन सकिँदैन”, उहाँले भन्नुभयो । 

 

नयाँ प्रविधिका टेक्टर भित्रिए पनि त्यसलाई चलाउन सक्ने सीपका साथै सामान्य विग्रदा मर्मत गर्न समेत समस्या हुँदा कतिपय स्थानमा हलोको प्रयोग चाहेर पनि चटक्क छोड्न नसकिएको किसानको अनुभव छ । गाउँका टारीखेतमा मिनि टेलर बोकेर तलमाथि गर्नुका साथै चलाउने सीपको अभाव र मर्मतको अज्ञानता आदि समस्याका रुपमा रहेको तिवारीको भनाइ छ । 

 

पछिल्लो समयमा बढ्दै गएको ट्याक्टर एवं मिनि टेलरको प्रयोग किसान लागि बरदान सावित भएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनाएको जनाउँदै उहाँले विगत सात वर्ष यता यी उपकरणको खरिदमा सरकारका तर्फबाट अनुदान सहयोग उपलब्ध गराउन थालिएको बताउनुभयो ।

 

गोरुका लागि घाँस काट्ने, खुवाउने र चराउने गर्नुपर्ने भए पनि ट्याक्टर, मिनिटेलरको प्रयोग गर्दा उक्त समस्या समाधान भएको किसान बताउँछन् । छोटो समयमा धेरै काम गर्न सकिने भएकोे पनि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । 

पोखरा:   लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् ।   ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...

थप पढ्नुहोस्

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् ।    पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...

थप पढ्नुहोस्

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्